गुरुकुल र गुरुकुल शिक्षा
१) विषयप्रवेश
हिमवत्खण्ड नेपाल वैदिक ज्ञानको उद्गमभूमि हो । यहाँका पर्वतीय अधित्यका, उपत्यका, नदीतट र गुफाहरू ऋषिमुनिका साधनाभूमि हुन् । यहाँ बसेर ऋषिहरूले तपस्या गरे । साधना गरेर मन्त्रद्रष्टा भए । उनीहरूको ज्ञान अगाध छ । यो कुराको प्रमाण वेद हो, वेदका अङ्गहरू हुन् - इतिहास, पुराण, धर्मशास्त्र र दर्शनहरू । साथै सुदीर्घ कालदेखि चलिआएको ऋषिमुनिहरूको अखण्ड साधना । मानव सभ्यताको त्यो विकास । करोडौँ योजन टाढाका सूर्य र चन्द्रमाको गति र ग्रहणको ज्ञान । विज्ञानलाई चमत्कार देखाउने वास्तुविद्या । प्राकृतिक चेतनाको आधारमा सयौँ वर्ष बाँच्ने मात्र होइन हजारौँ वर्ष स्वस्थ रहेर बाँच्ने तरिका । विश्वलाई यौटै घरको परिवार मान्ने दर्शन । आत्मा र परमात्माको परिचय गराउने ज्ञान । यस्ता अनेकौँ ज्ञानका विधाहरू । अगाध ज्ञाननिधि भएको विशाल संस्कृत वाङ्मय । आज त्यो हाम्रा पुर्खाको ज्ञानवैभव ओझेलमा छ, उपेक्षित छ । उनै पुर्खाका सन्तान उपेक्षित, अपमानित र दरिद्रझैँ भएका छन् । अनि पश्चिमाभिमुख भएर हातमा कटौरी लिएर भिक्षा मागिरहेका छन् । शिक्षाको पनि भिक्षा । हामी आफैँसँग पनि धेरै कुरा छ । त्यसको खोजी गर्नु छ, पुनर्बोध गर्नु छ । अनि समृद्ध पनि हुनु छ । त्यसका लागि गुरुकुलशिक्षाको पुनर्बोध आवश्यक छ ।
२) के हो गुरुकुल ?
पुर्खाहरूको आफ्नै चिन्तन थियो र आफ्नै शिक्षा पद्धति पनि थियो । त्यो शिक्षा पद्धतिलाई हामी आज गुरुकुल शिक्षा पद्धति भन्छौँ । गुरु अर्थात् अज्ञानरूप अन्धकार हटाउने चेतनाको दीयो । परम्परागत ज्ञानधाराको संवहन गर्ने आधार । त्यस्तैलाई गुरु भनिन्छ । गुरुको कुल वा परम्परालाई गुरुकुल भनिन्छ । गुरुकुलमा गुरु मुख्य हुनुहुन्छ । विषयको दृष्टिले मात्र होइन, अनुशासन, चरित्र र आदर्शका दृष्टिले पनि । अनि त्यहाँको वातावरण उत्तिकै मुख्य हुन्छ । परिवेशले ठुलो प्रभाव पार्छ । कोलाहलको बीचमा चिन्तनको गहिराइ हुनै सक्दैन । समुद्रको गहिराइमा नपुगी रत्न भेटिदैँन । त्यसैले गुरुकुल वरिपरिको वातावरण शान्त, स्वच्छ र सौम्य हुनु नितान्त आवश्यक छ, जहाँ आत्मबोध प्रकाशित होस् । अन्तर्निहित चेतना प्रस्फुटित होस् ।
३) कस्तो हुन्छ गुरुकुल ?
गुरुकुल भनेको कुनै किताबका पाना पल्टाउनु, त्यहाँका पङ्क्ति घोक्नु र परीक्षामा ओकेल्नु होइन । गुरुकुल भनेको बाहिरी आँखा बन्द गरेर भित्र फर्किदा आफैँ भित्रको ज्ञानदीप प्रकाशित हुने कला हो । गुरुकुलमा गुरु कोही हुन सक्छ तर त्यहाँ व्यक्ति होइन, ईश्वरीय चेतना प्रकट हुने गर्दछ । गुरुले सिकाउँदा पनि त्यही कुरा सिकाउने हो । आफैँ भित्रको चेतनाको प्रकाशलाई प्रकट गर्न सिकाउने हो । दृश्य उही होला तर द्रष्टाको क्षमताअनुसार दर्शन प्रकट हुन्छ । द्रष्टाको क्षमतालाई तिखार्नु गुरुकुलको विशेषता हो ।
४) के पढाइन्छ गुरुकुलमा ?
गुरुकुलशिक्षा कुनै विषयसँग सम्बन्धित छैन । कुनै एउटा सम्प्रदाय वा मान्यतामा सीमित छैन । गुरुकुल शिक्षा छुट्टै जाति, वर्ग, समुदायको पनि होइन । वर्तमानमा रिलिजनको पर्यायका रूपमा प्रसिद्ध कुनै यौटा धर्मको शिक्षा पनि होइन । व्यक्तिद्वारा रचिएको सिद्धान्त पनि होइन । यो हो मानवताको अनुकूल शिक्षा । प्रकृतिसँग संवद्ध शिक्षा प्रणाली । त्यसैले भनिन्छ– प्राकृतिक शिक्षा पद्धति, आफुँलाई प्रकृतिसँग जोड्ने कला, प्रकृतिबाट सिक्ने कला, प्रकृतिसँग एकाकार हुने कला । यो हो गुरुकुल शिक्षा । यसका केही नमुनाहरू हेरौँ ।
५) कसरी पढाइन्छ गुरुकुलमा ?
गुरुकुल शान्त र एकान्त वातावरणमा हुन्छन् । पर्याप्त जग्गा चाहिन्छ । वरिपरि रुख हुनुपर्छ । सकेसम्म नदीको किनार पनि चाहिन्छ । त्यस्ता ठाउँमा गुरुकुल हुन्छन् । भवन मात्र हुनु गुरुकुल होइन । कक्षा उत्तीर्ण गर्ने ठाउँ गुरुकुल होइन । पुस्तक घोक्ने ठाउँ होइन गुरुकुल । आत्मिक चेतनाको विकास गर्ने ठाउँ हो गुरुकुल । अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने अनुकूल वातावरण हो गुरुकुल । प्राचीन कालमा यस्तै गुरुकुल हुन्थे । पर्णकुटि वरिपरि हरियाली हुन्थ्यो । अनि त्यागवृत्ति भएका तपस्वी गुरुको सान्निध्य पाउँथे । चक्रवर्ती सम्राट्का सतन्तति वा राजकुमार–कुमारी पनि घरको सुख, सुविधा छोडेर शान्त एकान्तमा रहने गुरुकहाँ जान्थे । त्यहाँ धनी, गरीब सबैले सुख र दुःख दुवैको समान अनुभव गर्न सिक्थे । अनि समाजका हरेक वर्ग, समूह र समुदायको अन्तर्वेदना बुझ्न सक्थे । परिणाममा कुशल प्रशासक बन्थे । यो हो गुरुकुलको विशेषता ।
६) गुरुकुल शिक्षाको पहिलो चरण
गुरुकुल शिक्षाको पहिलो सुरुवात मातृकुल शिक्षाबाट हुन्छ । यो गुरुकुलको प्रथम चरण हो । पहिलो गुरु आमा हुनुहुन्छ । ज्यादै सानो उमेरमा पनि आमाको व्यवहार, बोलचाल र विचारको ठुलो प्रभाव बालमस्तिष्कमा पर्छ । त्यतिमात्र होइन आमा गर्भवती हुँदा र त्यसभन्दा पनि पहिलेको व्यवहारको गहिरो छाप बच्चाको जीवनमा पर्छ भन्ने गुरुकुल शिक्षाको सिद्धान्त हो । त्यसैले त बच्चा जन्मनुभन्दा पहिलेको संस्कारलाई समेत जोड दिइन्छ । हिरण्यकशिपुको छोरा प्रह्लादले आमाको गर्भमा छँदा नै नारदबाट उपदेश पाएका थिए । त्यसैले बच्चाको गर्भाधान पनि विधिपूर्वक हुनुपर्छ । त्यसपछिका पुंसवन, सीमन्तोनयान,जातकर्म, नामकर्म, चूडाकर्म, उपनयन यी सबै बालकका संस्कारहरू मानिन्छन् । त्यसपछि मात्र सुरु हुन्छ दोस्रो चरणको गुरुकुल शिक्षा ।
७) गुरुकुल शिक्षाको उमेर र अवधि
गुरुकुल बसाइँकोअवधि कम्तीमा १६ वर्षको मानिन्छ । ८ वर्षदेखि २४ वर्षसम्मको । ८ वर्षमा उपनयन गरिन्छ र २४ वर्षमा समावर्तन । यो जीवनको सर्वाङ्गीण विकासको अवधि हो । त्यो सोह्रवर्षे गुरुकुल बसाइँका पनि दुई चरण हुन्छन् । केशान्तसंस्कार सम्मको अर्थात् ८ वर्षदेखि १६ वर्षे अवधिसम्मको पहिलो चरण र त्यसपछि समावर्तनसम्मको अर्थात् १६ वर्षदेखि २४ वर्षसम्मको दोस्रो चरण । यसमा प्रथम चरणमा गुरुबाट सिक्ने र दोस्रो चरणमा त्यसलाई अनुभव गरेर आफ्नो प्रतिभाबाट तिखार्ने । यी दुई चरण पूरा गरेपछि समावर्तन (गुरुकुलबाट घर फर्किने) संस्कार सम्पन्न हुन्छ । त्यतिखेर वेदाध्ययनरूप यज्ञ पूरा भएपछि गरिने विधिपूर्वकको स्नानकर्म सम्पन्न हुन्छ । त्यो स्नानकर्म पूरा गरेर घर फर्किन लागेको व्यक्तिलाई स्नातक भनिन्छ । स्नातक तीन किसिमका हुन्छन् – विद्यास्नातक, व्रतस्नातक र विद्याव्रतोभयस्नातक । पढाइ पूरा गर्नेलाई विद्यास्नातक, व्रत पूरा गर्नेलाई व्रतस्नातक र दुवै पूरा गर्नेलाई उभयस्नातक ।
८) गुरुकुलका शिष्यका विशेषता
गुरुकुलका शिष्यहरू विद्यार्थी होइनन् । विद्यार्थी आफैँ विद्या (विषयगत ज्ञान) चाहन्छन् । जसरी विद्या (जानकारी) पाइन्छ, त्यही गर्छन् । विद्या लेनदेनको विषय हुन्छ । विद्या विद्यार्थी केन्द्रित हुन्छ । कि गुरुको सेवा गरेर, कि धन दिएर वा विद्यासँग साटेर विद्या पाइन्छ । त्यत्तिमात्र गर्ने विद्यार्थी हुन् । विद्यार्थी विद्यालयमा जान्छन्, पढ्छन् र घर फर्किन्छन् । यो विद्यार्थीको अध्ययनविधि हो । शिष्य चाहिँ विद्यार्थीभन्दा फरक हुन्छन् । उनीहरू गुरुको जिम्बेवारीमा हुन्छन् । कसलाई कस्तो बनाउने, कसको पात्रता कस्तो छ, त्यो सबै गुरुको जिम्बेवारीमा हुन्छ । त्यसैले यहाँ अध्यापनविधि काम लाग्छ । शिष्यको काम शरणागत हुने हो । शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् भनिदिने । गुरुमा अखण्ड श्रद्धा गर्ने, आज्ञाको पूर्णतः पालन गर्ने, ननु नच भन्दै नभन्ने, अखण्ड ब्रह्मचर्यव्रतको पालन गर्ने, वीर्यरक्षा गर्ने, तदनुकूल आहार–विहार गर्ने, संयममा जोड दिने,पढाइमा भन्दा बढी साधना, आशीर्वाद र गुरुकृपामा विश्वास गर्ने शिष्य हुन् । शिष्यको साधना, तपस्या र एकाग्रताबाट साच्चिकै मेधाशक्ति प्राप्त हुन्छ भन्ने गुरुकुल शिक्षाको सिद्धान्त हो । पढेरभन्दा बढी आन्तरिक चेतनाको विकासबाट शिष्यहरू सफल बन्छन् । युवावस्थामा ब्रह्मचर्यव्रतको कठोर साधना गर्दा त्यस व्यक्तिका कामवासनाहरू स्वतः नष्ट हुन्छन् । विषयको दुराशक्ति हुँदैन । कर्तव्याकर्तव्यको निर्णय गर्न सक्ने बन्छ । केवल कर्तव्यकर्मलाई निष्ठाका साथ परिपालन गर्छ र ऊ अन्तमा मोक्षाधिकारी बन्छ ।
९) गुरुकुलका गुरु
गुरुकुलमा रहने गुरु स्वयं सदाचारी, निष्ठावान् र आदर्श हुनुपर्छ । जसले भनेर वा उपदेश गरेर होइन आचरणबाट सिकाओस् । उदाहरणीय बनोस् । शिष्यको प्रतिभालाई सर्वाङ्गीण रूपमा विकसित गर्न सकोस् । शिक्षाभन्दा बढी संस्कार दिन सकोस् । त्यो मात्र गुरु हुन्छ । कक्षाकोठामा गएर पुस्तकका पाना पढाउने व्यक्ति टीचर बन्न सक्छ, गुरु बन्न सक्दैन । गुरु त जीवन जिउने कला सिक्ने आदर्श हो । गुरुले त संस्कार दिन्छन्, शिक्षा दिन्छन् । काँचो माटोबाट घडा बनाउँछन् अर्थात् संस्कार र शिक्षा मार्फत् नयाँ जन्म दिन्छन् वा द्विज बनाउँछन्, सृष्टि गर्छन्, त्यसैले गुरु ब्रह्मा हुन् । गुरु माली हुन्, किनकि उसँग भएका संस्कारको बीजलाई जगाउँछन्, मलजल गर्छन् । पालन गर्छन्, त्यसैले गुरु विष्णु पनि हुन् । ऊभित्रको अज्ञानरूप अन्धकार नष्ट गरिदिन्छन् । त्यसैले रुद्र हुन् । एउटै व्यक्ति तीन भूमिकामा देखिनाले वास्तवमा गुरु व्यक्ति होइनन् । ईश्वरीय चेतनाको आधान गर्ने स्वयं ब्रह्म हुन् । गुरुः साक्षात् परब्रह्म ।
१०) गुरुहरूको भेद
विषयको भेदले गुरु दुई किसिमका हुन्छन् – शिक्षागुरु र दीक्षागुरु । विभिन्न विषय सिकाउने वा शास्त्र पढाउने गुरु शिक्षागुरु भए । त्यत्तिले गुरुको दायित्व पूरा हुँदैन । संस्कार सहित मन्त्र वा उपदेशमार्फत् ईश्वरीय ऊर्जाको आधान गर्ने गुरु दीक्षागुरु । गुरुकुलमा शिक्षा मात्र हुनुहँदैन दीक्षा पनि हुनुपर्छ । त्यसपछि मात्र गुरुशिष्यभाव पूर्ण हुन्छ । अर्को दृष्टिकोणबाट हेर्दा गुरुहरू ४ किसिमका देखिन्छन् उपाध्याय, गुरु,आचार्य र कुलपति । जीविकाका लागि कुनै वेदका शाखा वा वेदाङ्ग पढाउने गुरुलाई उपाध्याय भनिन्छ । जीवन निर्माण गर्न उपाध्यायको त्यति ठुलो भूमिका हुँदैन । आध्यात्मिक चेतनाको जगमा संस्कार सहितको शिक्षा दिने गुरु हुन्छन् । गुरुले शिक्षादानलाई जीविकाको आधार बनाउँदैनन् । पढाउँदासम्म विद्यार्थीबाट केही लिँदैनन् । पढाइ सकिएपछि मात्र यदाकदा विद्यार्थीको अवस्था हेरेर उसबाट गुरुदक्षिणा लिन सक्छन् । उपाध्याय र गुरुभन्दा आचार्यको भूमिका माथि हुन्छ । आचार्यले शिष्यको चरित्र निर्माणको दायित्व वहन गर्छन् । आचरण पक्षलाई बढी ध्यान दिने भएकाले नै आचार्य भनिएको हो । कुलपति ती हुन्, जसले दशौँ हजार विद्यार्थीलाई आवास, भोजन सहित शिक्षा र दीक्षाको व्यवस्था मिलाउँछन् । यी सबै किसिमका गुरुहरू मुख्य गुरुको भूमिकामा हुन्छन् । त्यसबाहेक त्यहाँ बस्ने अरु गुरुआमाहरू, गुरूपुत्रहरू, अग्रजहरू वा अन्य सहायकहरू सबैले गुरुको सहयोगीका रूपमा दायित्व वहन गरेका हुन्छन् । जसरी परिवारका सदस्य मध्ये एकजना घरको जेष्ठ सदस्य सबैको हुन्छन् भने अरु सबै सदस्यहरू गृहगुरुकुलका शिक्षक हुने गर्छन् ।
११) प्रकृतिको गुरुकुल
गुरु जति किसिमका भए पनि गुरुकुलका मुख्य शिक्षक प्रकृति हुन् । दत्तात्रेयले २४ गुरुबाट शिक्षा लिएको कुरा पुराणमा प्रसिद्ध छ । त्यो प्रसङ्ग मननयोग्य छ । पृथिवीबाट धीरताको, वायुबाट अनासक्तिभावको, आकाशबाट निर्लेप हुने कुराको, जलबाट पवित्रताको, अग्निबाट तेजस्वीपन, सर्वभक्षी भैकन निष्पृहता र समानताको शिक्षा लिन सकिन्छ भनेका छन् । त्यस्तै सूर्यबाट जल लिँदा–दिँदा स्वार्थ र आसक्ति नहुनु, परेवाबाट भोगमा आसक्त नहुनु, माहुरीबाट सारग्राही हुनु, हात्तीबाट कामभोगमा नभुल्नु, मह निकालेको देखेर धन संचय नगर्नु, मृगबाट शब्दमा मोहित नहुनु, माछोबाट स्वादमा न अल्मलिनु, वेश्याबाट पराधीन नहुनु (मनको अधीनमा नहुनु), कुररपक्षीबाट सञ्चय गर्दा दुःख हुनु जस्ता शिक्षा लिन सकिन्छ भन्ने दत्तात्रेयको उपदेश हो ।
१२) वर्तमानका गुरुकुलहरू
नेपालमा परम्परागत रूपमा चलिअएको शिक्षा गुरुकुल शिक्षा हो । हाल देशमा आधुनिक शिक्षा पद्धति मुख्य शिक्षापद्धतिको रूपमा प्रचलित छ । वर्तमानमा नेपालमा करिब ५०० वटा गुरुकुलहरू सञ्चालनमा रहेको अनुमान छ । आधिकारिक रूपमा तत्थ्याङ्क सङ्कलन भएको पाइदैन तर पनि करिब २५० गुरुकुलहरू नेपालको सरकारी निकायमा दर्ता भएका छन् । समयानुकूल आफुलाई परिवर्तन गर्ने क्रममा गुरुकुलहरू दर्ताप्रक्रियामा आएका हुन् । दर्ता नभई परम्परागत रूपमा रुद्री चण्डी, वेद व्याकरण पढाउने गुरुकुलहरू पनि छन् । यस्ता गुरुकुलमा पढ्नेहरूको न त कुनै अभिलेख छ नत कुनै भविष्यको सुनिश्चितता । हाल यस्ता गुरुकुललाई धार्मिक शिक्षालयको रूपमा दर्ता गर्न प्रयत्न गरेको पनि पाइन्छ । दर्ता भएका गुरुकुलहरूले प्रचलित कानुनी प्रक्रियाका साथै निर्धारित पाठ्यक्रमको अनुसरण गरेकाछन् । प्रचलित नियमानुसार दर्ता भएका गुरुकुललाई सरकारका तर्फबाट एकमुष्ट न्यूनतम आर्थिक सहयोग पनि उपलब्ध हुन्छ । यस्ता गुरुकुलका छात्रहरूमा कक्षोन्नतिको व्यवस्था हुन्छ र भविष्यप्रतिको सुनिश्चचितता पनि हुन्छ भन्ने मानिएको छ । तर दर्ताप्रक्रियामा लाग्नासाथ परीक्षाप्रणाली र अन्य सरकारी निर्देशन मान्दै जाने क्रममा गुरुकुलको आफ्नो मौलिक स्वरूप हराउँदै जाने त होइन भन्ने चिन्ता पनि देखिन थालेको छ ।
१३) गुरुकुल धार्मिक विद्यालय कसरी ?
सरकारी निर्देशिकाको बुझाइमा गुरुकुलहरूलाई वैकल्पिक शिक्षा भन्न थालिएको छ । अचेल यिनीहरूलाई धार्मिक विद्यालय पनि भनिन्छ । यी मात्र धार्मिक भए अन्य साधारण विद्यालय अधार्मिक हुन् त ? प्रश्न उठ्न थालेको छ । धर्मलाई समुदायविशेषको मान्यता वा कुनै यौटा सम्प्रदायमात्र मान्ने मानसिकताबाट यसो भनिएको हो । तर संस्कृत शिक्षा त्यस्तो होइन । वसुधैव कुटुम्बकम् भन्ने भावना भएको भाषा यौटा सम्प्रदायको भाषा हुन सक्दैन । यो त राज्यले विशेष लगानी गरेर पनि संरक्षण गर्नै पर्ने भाषा हो । यहाभित्र रहेका ज्ञानसम्पदा मानवमात्रको हितका लागि छ भने यसलाई यौटा वर्गको मानेर साँघुरो घेराभित्र राख्नु उचित हुँदैन । तर आज त्यस्तै भइरहेको छ । राज्यले गुरुकुल सञ्चालनको लागि योजना बनाउन सकेको छैन । उच्चशिक्षाको वागडोर समाल्ने विश्वविद्यालयको अवस्था पनि चिन्तायोग्य छ । राजीति र पदको बाँडफाँडमा अल्मलिइको छ । गुरुकुल चल्ने चलाउने आधार त केही पनि छैन । अकाशवृत्ति वा दान दातव्यको भरोसा । मठ मन्दिरको वा सार्वजनिक केही जग्गा, साना ठुला भवन, कर्मकाण्ड र पौरोहित्य सहितको संस्कार जोगाउन चाहने समुदाय, समर्पित गुरुजन अनि श्रद्धालु दाताहरूको दानसहयोग यिनै हुन् वर्तमानमा गुरुकुलसञ्चालनका आधारहरू । अब गुरुकुललाई हेर्ने दृष्टिकोण अलि फराकिलो बनाउनुपर्ने देखिन्छ ।
१४) संस्कृतशिक्षा कसको ?
संस्कृतलाई कुनै जातिको भनेर आरोप लगाउने गरेको पनि पाइन्छ । वास्तवमा संस्कृतशिक्षा कुनै वर्ग जाति समुदायको पेवा होइन । संस्कृत भाषा मात्र पनि होइन । संस्कार हो । जीवनपद्धति हो । विशाल वाङ्मय हो । मानवमात्रको कल्याणका सूत्रहरू संस्कृतवङ्मयमा उपनिबद्ध छन् । ज्ञान विज्ञान सँगै योग, ज्योतिष, आयुर्वेद, वास्तुशास्त्र, जस्ता व्यावहारिक विषय पनि यहाँ छन् । आन्तरिक शान्तिका लागि अध्यात्मविद्याको उत्तिकै महत्त्व छ । आज विश्वभरका मानिसहरू संस्कृतविद्याप्रति चासोका साथ हेरिरहेका छन् । वास्तवमा यो नेपालको मौलिक सम्पदा हो । त्यसैले संस्कृत सबैका लागि र संस्कृत सधैँका लागि भन्ने कुरा राज्यले र गुरुकुलसञ्चालकले समेत बुझ्नु जरुरि छ । राज्यले संस्कृतशिक्षालाई संरक्षणीय संम्पदाको रूपमा विशेष रूपले जगेर्ना गर्नुपर्छ । गुरुकुलशिक्षाले अरू प्राचीन शास्त्रीय विधाको पनि संरक्षण गर्नु छ । सबैले सो दायित्व बहन गर्न नसके पनि संस्कृतभाषाको आरम्भिक ज्ञान र कर्मकाण्ड, ज्योतिष जस्ता केही व्यावहारिक विधाहरूको संरक्षण गरिरहेका छन् । समुदायले दुःखजिलो गरेर जोगाइराखेको गुरुकुल शिक्षाको दायित्व सरकारले पनि जिम्मेवारीपूर्वक बहन गर्नु पर्छ । हालसम्म गुरुकुल सञ्चालनमा सरकारको भरपर्दो सहयोग छैन । केही वर्षदेखि न्यूनतम सहयोग दिइएको छ । गुरुकुललाई धार्मिक विद्यालय मानी धार्मिक विद्यालयलाई दिइने भनिएको एकमुष्ट सहयोग अनुदान (सञ्चालित तहबमोजिमको सरकारी स्केलको एककजना शिक्षकको तलबबराबर रकम) दिइन्छ । यो अपर्याप्त छ । यसमा वृद्धि गर्नुपर्छ । केही वर्षदेखि महर्षि फाउण्डेशनबाट रुद्राभिषेक गराउने शर्तमा केही गुरुकुललाई सहयोग प्रदान हुँदै आएको छ । यो राम्रो पक्ष हो । तर यसरी गुरुकुललाई रुद्राभिषेक गर्ने संस्था वा धार्मिक विद्यालय मान्दा समग्र संस्कृत शिक्षालाई पनि एउटा धार्मिक सम्प्रदायको पेवा जस्तो मान्ने र धर्मनिरपेक्षताको बहानामा राज्यले संस्कृतशिक्षाको दायित्व बहन नगर्ने परिस्थिति देखापरेको छ । बास्तवमा गुरुकुलशिक्षा कुनै विषयको पढाइमात्र होइन । यसलाई रुद्राभिषेकमात्रमा सीमित गर्नु वा रुद्री गर्नुमात्रलाई समग्र गुरुकुल शिक्षा मान्नु पनि उपयुक्त देखिँदैन । यो यौटा स्वतन्त्र र प्राकृतिक वा नैसर्गिक शिक्षा पद्धति हो । यसलाई अलि फराकिलो दृष्टिबाट हेर्न जरुरि छ ।
१५) उपसंहार र निष्कर्ष
गरीबी कसैलाई पनि मन पर्दैन । त्यसैले हरेक मानिस धनी हुन चाहन्छ र प्रयत्न गर्छ । यो स्वाभाविक कुरा हो । पैसा मात्र धन होइन । संस्कृतमा प्रसिद्ध भनाइ छ – विद्या धनं सर्वधनप्रधानम् । विद्या अझै बढी महत्त्वपूर्ण धन हो । समाज वा राष्ट्रको कुरा गर्दा संस्कार संस्कृति र सामाजिक चेतना अझ ठुलो सम्पत्ति हो । कोही सम्पत्ति नभएर गरिब हुन्छन् कोही सम्पत्ति भएको थाहा नपाएर गरिब हुन्छन् । हामी ऋषिमुनिका वंशज सन्तान हौँ । विन्दुवंशबाट मात्र होइन विद्यावंशबाट पनि । आफ्ना पूर्वजको सम्पत्तिमा सन्तानको अधिकारहुन्छ नै । संस्कृतवाङ्मयभित्र उपनिबद्ध भएका वेद उपनिषद् र अन्य विभिन्न शास्त्रीय ज्ञानहरू हाम्रा अमूल्य बौद्धिक सम्पत्ति हुन् । तिनको पुनर्बोध गर्न सके हामी समृद्ध हुन्छौँ । त्यसका लागि गुरुकुलशिक्षाको पुनर्बोध अवश्यक छ । अस्तु ।